Wednesday, April 22News That Matters

सडक सुशासन कायम गराउन झापामा पुष ४ बाट ट्राफिक सप्ताह

पूर्णपुष्टि, पुष २
सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुष ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना मूलक कार्यक्रम गर्न लागेको हो । विशेष गरी पुष र माघ महिनामा बिहान बेलुका बाक्लो हुस्से लाग्ने र सवारी सञ्चालनमा कठिनाई हुने हुँदा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले बताउनुभयो ।

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम १ नम्बर प्रदेश भरी नै सञ्चालन भइरहेको र झापामा पनि सोही ट्राफिक सचेतना अभियान गर्न लागिएको प्रहरी निरीक्षक चापागाईले बताउनुभयो । चापागाईका अनुसार ट्राफिक सप्ताहको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले गर्नु हुने छ । बिर्तामोडमा आयोजित समारोहको उद्घाटन अघि सचेतना ¥याली सहित प्रभातफेरि गरिने छ भने सडक सुशासन सम्बन्धि अभिमुखीकरणसमेत हुने छ ।