
पूर्णपुष्टि, असार २३
गृहमन्त्री रामबहादुर थापाले देश समृद्धिको बाधक लागुऔषध रहेकोे बताउनुभएको छ । पछिल्लो समयमा आएर सबैभन्दा धेरै युवा पुस्ता लागुऔषधको दलदलमा फसेकाले मुलुकको समृद्धिको बाधक लागुऔषध नै भएको उहाँले बताउनुभयो ।
गृहमन्त्रालयमा आज आयोजित लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृह मन्त्रि थापाले तथ्यङ्कले लागुऔषधको दुरुपयोग कोरोना जस्तै विश्वव्यापी रुपमा फलिरहेको बताउनुभयोे । लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी प्रभावित भएको उहाँले बताउनुभयो ।
मुलुकभर कुल १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको प्रतिवेदनले देखाएको छ । विभिन्न ४३ जिल्लाका २ हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । गत २०६९ मा प्रयोगकर्ताको सङ्ख्या कूल ९१ हजार ५ सय ३४ थियो । तथ्याङ्कमा वृद्धि भए पनि वृद्धिदर भने घटेको पाइएको छ ।
युवा शक्ति बढी लागुऔषध दुरुपयोगमा फसेकाले त्यसको नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको उहाँले बाउनुभयो । गृहमन्त्रालयले लागू गरेको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समेत लागुऔषध दुरुपयोग र यसबाट हुने अपराध रोक्ने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले प्राप्त तथ्याङ्कमा सङ्ख्या वृद्धि भए पनि वृद्धिदर घट्नु खुशीको कुरा भएको बताउनुभयो ।
प्राप्त प्रतिवेदनले आगामी दिनमा यसको दुरुपयोग नियन्त्रणका लागि थप रणनीति तय गर्न सहयोग पुग्ने मन्त्रि थापाले विश्वास व्यक्त गर्नुभयो ।
बेरोजगारी बढी लागुऔषध प्रयोगकर्ता रहेको प्रतिवेदनले औल्याएको तर्फ ध्यान दिनुपर्नेमा गृहसचिव महेश्वर दाहालले जोड दिनुभयो । युवा शक्ति सहभागी हुनु भनेको मुलुकको विकासमा समेत अवरोध हुनु हो । लागुऔषधसँग अन्य रोगको साइनो जोडिएकाले मानव स्वास्थ्यलाई समेत प्रतिकूल प्रभाव पारिरहेकाले यसतर्फ बेलैमा सोच्नु पर्ने उहाँले बताउनभयो ।
