
पूर्णपुष्टि, असोज २४
सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता निश्कर्ष विहिन भएको छ । गतराति अबेर भएको छलफल बिना निश्कर्ष टुङ्गिएको हो ।
सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विना निश्कर्ष टुङ्गिएको डाक्टर केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ । तर सरकारी वार्ता टोलीले भने केही बुँदामा थप छलफल गर्नुपर्ने भएकाले राति निश्कर्ष ननिस्किएको बताएको छ ।
सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ । यसैबीच डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
डाक्टर केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीले जनाएको छ । असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर मुटुले कामै गर्न नसक्ने अवस्था आउँन सक्छ । छातीमा पनि समस्या देखिएकाले रेडियोलोजिस्टसँग थप सल्लाह लिन लागेको जनाईएको छ ।
स्वास्थ्यस्थिति निकै जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन डाक्टरले आग्रह गरेपनि डाक्टर केसीले अस्वीकार गर्दै आएको छ । डाक्टर केसी १९ औं पटक अनशनमा बस्नुभएको आज २७ दिन पुगेको छ ।
डाक्टर केसी र सरकारविच २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राखेको छ ।
उहाँको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गत भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनशन सुरु गरेको थियो । पछि काठमाण्डौ ल्याइएका उनलाई अहिले शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा छ ।

