
पूर्णपुष्टि, २७ मंसिर ।
नेपाल सरकारले करिब ६० हजार बेरोजगारीलाई रोजगारमा जोड्ने तयारी गरेको छ । विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो। स्थानीय तहमा विकास निर्माणका योजनामा रोजगारी सृजना गर्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव शोभा पोखरेलले बताइन्। यस कार्यक्रम अन्तर्गत सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारीले रोजगारी पाउनेछ ।
सरकारले करिब ८६ हजारलाई रोजगारी सृजना गर्ने लक्ष्य राखेको भए पनि ६० हजारलाई मात्र रोजगारी दिने पोखरेलले बताइन्। ‘बेरोजगारलाई ज्यालाबापत न्यूनतम पारिश्रमिक दिन्छौं,’ उनले भनिन्, ‘प्रतिदिन ६ सय ६८ रूपैयाँ दिनको ज्याला पाउँछन् ।’ एक जनाले १ सय दिनसम्म काम पाउने पोखरेलले जानकारी गराइन् । ‘स्थानीय तहमा सूचीकृत भएका बेरोजगारले काम पाउँछन्,’ उनले भनिन्, ‘स्थानीय सरकारले योजना छनोट गरेर काम लगाउँछ।’
नयाँसहित पुराना आयोजनाको मर्मतसम्भारमा काम लगाउने योजना छ। यो कार्यक्रम ७ सय ५३ वटै स्थानीय तहमा कार्यान्वयन हुनेछ। १८ देखि ५९ वर्षभित्रका बेरोजगारलाई न्यूनतम रोजगारी दिने भन्दै सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु गरेको थियो।
बेरोजगार व्यक्तिलाई एक सय दिनको न्यूनकार्यक्रमको कार्यविधिले स्थानीय तहका सडकको नियमित मर्मतसम्भार, स्थानीय तहभित्रका बस्ती, स्वास्थ्य चौकी, विद्यालय, आर्थिक केन्द्र, हाटबजार, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल जोड्ने सडक निर्माण तथा मर्मतसम्भार गर्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी, कुलो, पैनी वा पोखरीको मर्मतसम्भार तथा स्तरोन्नति, पोखरी तथा पानीको मूल संरक्षण, सार्वजनिक स्थलमा फलफूल बगैंचा निर्माण, कृषि तथा पशुपक्षी उत्पादनको भण्डारण तथा बिक्री वितरणमा आवश्यक पर्ने शीत भण्डार, हाटबजार, तरकारी संकलन केन्द्रको निर्माण तथा मर्मतसम्भारको काम पनि गर्न सकिने पनि व्यवस्था छ।
