
आशिष वस्नेत
कटारी / माघ , ११
कटारी सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी सडकखण्ड अन्र्तगत सहमति विपरित ट्रिपर संञ्चालन भईरहेको स्थानीयले गुनासो गरेको छ । । कटारीको देबिधापबाट तावाखोला र कमला खोलाबाट ट्रिपर संञ्चालन गर्नुपर्ने सहमति भएपनि राजमार्गबाटै ट्रिपर संञ्चालन भईरहेको हो ।
दिन रातै संञ्चालनमा आईरहने ट्रिपरले स्थानीयहरुमा ठुलो समस्या आईरहेको स्थानीयहरुको आपत्ति छ । राजमार्ग बाट संञ्चालनमा आएको ट्रिपरले स्थानीयहरुलाई धुलो धुवाँ, ध्वनी बाटोमा हिड्न समस्या हुनुका साथै आफुहरु सुरक्षित हुन समस्या भएको स्थानीय धन बहादुर राईले बताउनुभयो ।
सिरहाको मारुति सिमेण्टका लागि सिन्धुलीको दुधौली ककुरठाकुरबाट उत्खनन गरिएको चुनढुंगा कटारीको राजमार्गबाट संञ्चालन नगरी वैकल्पिक मार्गबाट संञ्चालन गर्ने यस अघि नै स्थानीयहरु सँग सहमति भएको थियो ।
जय भुजेलका अनुसार अहिले ट्रिपरहरु हडैयाबाट , सिमानपुर खहरेबाट राजमार्ग प्रवेश गराई संञ्चालन गर्ने गरेको छ । ऐतिहासिक त्रिवेणी मेला जारी रहेकाले अवरोध नगरेको बताउँदै भुजेलले मेला पछि तुरुन्त ट्रिपर संञ्चालनमा अवरोध गर्ने बताए ।
सडकको क्षमताभन्दा बढी चुनढुंङ्गा बोकेका ट्रिपरहरुले सडकखण्ड जीर्ण बनाएको स्थानीयहरुको भनाई छ । यति मात्रै हैन सडकमा जोखिम पनि बढेको छ ।
यस वर्षदेखि लोड र खाली सबै ट्रिपर खोलाबाट संञ्चालन गर्ने सहमति बमोजिम खोलाको बाटो ट्रिपर संञ्चालन गर्नुपर्नेमा यस वर्षपनि ट्रिपरहरु राजमार्गबाटै संञ्चालन गरिंदा जोखिम बढिरहेको स्थानीय बताउँछन् । ट्रिपरकै कारण कटारी मिर्चैया २६ किमि सडकखण्ड जीर्ण अवस्थामा पुगेको छ ।
