
पूर्णपुष्टि,असार २५ । आज असारको २५ गते अर्थात यो महिनाको अन्तिम सोमबार भए संगै चान्द्रमास अनुसार साउनको पहिलो समोबारका लागि पशुपति क्षेत्रमा भक्तजनाहरुको बढ्दो घुइचो देखिन थालेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।
साउन महिनाका सोमबारमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहजरुपमा प्रवेश गराउन सबै तयारी पूरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बार मानी धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने भएकाले विशेष तयारी गरिएको हो ।
साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि पशुपतिमा महिलाको भीड लाग्ने गर्छ ।
