
पूर्णपुष्टि, फागुन २७
उदयपुरको त्रियुगा नगरपालिका–११ को साकेला टोल विकास संस्थाको सामुदायिक भवन शिलान्यास भएको छ । टोल विकास संस्थाको भवन त्रिनपा–११ का वडाध्यक्ष विश्वराज भट्टराईले विहिबार शिलान्यास गर्नुभएको हो ।
साकेलाटोलको आधारभुत स्वास्थ्य भवन छेउ, दक्षिणतर्फको सार्वजनिक जग्गामा भवनको सिलान्यास गरिएको हो । हालका लागि सामान्य भवन बनाई वैठक, भेला जस्ता संस्थाको क्रियाकलाप संचालन गरिने र भावि दिनमा सुविधासम्पन्न भवनका लागि नगरपालिकासंग माग गरिने भएको छ ।

टोल विकास संस्थाले शिलान्यास समारोहको आयोजना गरि विधिवतरुपले भवनको सिलान्यास गरिएको संस्थाका अध्यक्ष विशेश्वर राईले बताउनुभयो ।
संस्थाको आफ्नो भवन नहुदा बैठक, भेलाहरु सदस्यको घर वा साकेलाथानको परिसरमा गर्दै आएको संस्थाकी पूर्वअध्यक्ष गीता राईले बताउनुभयो ।
सिलान्यास कार्यक्रमलाई संवोधन गर्दै भवन निर्माणका लागि वडाको सहयोग रहने र आफ्नै कार्यकालमा उद्घाटन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । एकपछि अर्काे विकासका काम हुदै गएको साकेला टोललाई टोलवासिको सामुहिक प्रयासबाट नमुनाटोल बनाउनसमेत शुभकामना दिनुभयो ।
संस्थाका सल्लाहकार भोटराज राईले संस्थाको महत्वपूर्ण काम मध्ये यो एउटा महत्वपूर्ण कामको सुरुवात गरेको भन्दै पूर्णता दिन सबै जुट्नु पर्ने वताउनुभयो । काम पुरा गर्न सामुहिक एकता भई जुट्न टोलबासिलाई आव्हान गर्दै विशेष सहयोगका लागि वडा कार्यालयसंग आग्रह गर्नुभयो । साकेलाटोललाई सामुहिक एकता र सिर्जनशिल कामहरुले नमुना वनाउन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा वडासदस्य तारा राई, वडासचिव महेश पौडेल, गाउँका भद्रभलादमी, समाजसेवी, टोलवासी लगायतको उपस्थिति थियो ।

