
पूर्णपुष्टि, वैशाख ६
सुचाँदी व्यावसायीको गोली हानी हत्या गरको आरोपमा चार वर्ष पछि प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको अभियोगमा लालबन्दी नगरपालिका–२ का सञ्जीव पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिपुर नगरपालिकामा सुनचाँदी व्यवसाय गर्दै आएका सुनिल साहको २०७४ साल असोज २४ गते राति गोली हानी हत्या गरिएको थियो ।
उनका अनुसार सुनिल आफ्ना पिता नागेन्द्रसँगै पसल बन्द गरेर आफ्नो घर कविलासी नगरपालिका–२ तर्फ जाने क्रममा हरिपुर नगरपालिका–९ पडारी र पिपरियाको बीच बाटोमा सञ्जीव पासवान समेतले सुनिललाई गोली हानी हत्या गरेर सुन चाँदी तथा नगद ७ लाख १९ हजार लुटपाट गरेको अभियोग छ ।
घटनापछि अनुसन्धानको क्रममा पक्राउ परेका जयप्रकाश पासवान र उमेश पासवानलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
सञ्जीवलाई भने इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा पेस गर्दा अदालतले उनलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको प्रहरीले जनाएको छ । अदालतको आदेशपछि सञ्जीवलाई कारागार कार्यालय सिन्धुली पठाइएको प्रहरीले जनाएको छ ।
