Monday, April 20News That Matters

सुन तस्करीमा भन्सा एजेन्ट र कर्मचारीनै संलग्न : जग्गा खदिर देखी प्रेमिकालाई फिक्स डिपोजिट सम्म

पूर्णपुष्टि, १६ असार ।
२०७९ पुस १० मा चीनबाट ल्याएको सुन त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरियो ।
इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको करोडौँ मूल्यको सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएको घटनाबारे प्रहरीको अनुसन्धान यतिवेल अन्तिम चरणमा पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले संगठित तस्करी मुद्दामा म्याद लिएर त्यसबारे अनुसन्धान गरिरहेको छ ।
सुन पास भएको ५ महिनापछि अनुसन्धान सुरु गरेको ब्यूरोले सो तस्करीमा संलग्न भएको आशंकामा शुक्रबारसम्म ६ जनालाई पक्राउ समेत गरेको छ ।

सुटकेसमा ७ सय ३० थान भेपभित्र फिट गरेर तस्करले सुन ल्याएका थिए । भेपले भरिएको दुई वटा सुटकेसमा सुन रहेको सुराक पाएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेलले सीआईबीलाई अनुसन्धान गरिदिन पत्राचार गरेका थिए ।

पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, साहेब राव र अमृत कार्की छन् । शुक्रबार कास्कीबाट थप एक जनालाई ब्यूरोको टोलीले पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार एउटा भेपमा ११ ग्रामसम्म सुन ‘फिट’ गरेको आरोपितहरूले बयानमा खुलाएका छन् । तर, करोडौँको सुन विमानस्थलबाट बाहिरिएको तथ्य पुष्टि भए पनि ब्यूरोले न्यून परिमाणमा मात्रै सुन बरामद गरेको छ ।

अहिलेसम्म १ सय ग्रामभन्दा केही बढी सुन बरामद गरिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘तस्करी भएको सुन नै फेला परेन ।’

पोखराबाट पक्राउ परेका एक जना युवकको साथबाट करिब १ तोलाको सिक्री भेटिएको छ । सो सिक्री तस्करीको सुनबाट बनाएको अनुसन्धान अधिकृतहरूको भनाइ छ ।

तस्करीको सुन ‘सेटिङ’मा विमानस्थलबाट पास गराउन सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत र नायव सुब्बा रेवन्त खड्काले सहयोग गरेको पाईएको छ । सुन तस्करी र विमानस्थलबाट पास गराउन खड्का र बस्नेतको मुख्य भूमिका रहेको भेटिएको हो ।

दिनेश बस्नेत भन्सार ‘एजेन्ट’ हुन् । बस्नेतले काठमाडौँको पेप्सीकोलामा ६ आना जग्गा खरिद गरेको भेटिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ मा २ करोड ५० लाख मूल्य पर्ने जग्गा उनले आफ्ना ससुराको नाममा खरिद गरिदिएको अनुसन्धानबाट खुलेको छ ।

सुन बेचेर आएको १ करोड नगद ‘खानपिन’मा खर्च गरेको बस्नेतले प्रहरीलाई बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘बस्नेतले १ करोड रकम फजुल खर्च गरेको देखिन्छ, त्यसबारे उनी नबोलेको प्रहरीले जनाए ।

नासु रेवन्त खड्काको साथबाट प्रहरीले ७० लाखभन्दा धेरै रकम बरामद गरेको छ । खड्काले प्रेमिकाको नाममा ‘फिक्स्ड डिपोजिट’ गरिदिएको भेटिएको छ ।