Tuesday, June 30News That Matters

सुरक्षित सडक अभियान सरोकारवालाको विश्वास जित्दै

पूर्णपुष्टि संवाददाता
उदयपुर, जेठ २२ ।
उदयपुरको जीवनरेखाका रूपमा रहेको मदन भण्डारी लोकमार्गमा पछिल्लो समय बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सञ्चालन हुँदै आएको ‘ सुरक्षित सड़क अभियान’प्रति सरोकारवालाहरूको विश्वास बढ्दै गएको छ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय उदयपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा अभियानको समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र आगामी दिनमा अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले प्रस्तुत गरेको तथ्यांकअनुसार गत साउनदेखि वैशाखसम्म जिल्लामा ४५४ वटा सवारी दुर्घटना भएका छन्।

ती दुर्घटनामा १०५ जनाको मृत्यु, २४२ जना गम्भीर घाइते र ६३२ जना सामान्य घाइते भएका छन्। त्यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर दुर्घटनामा संलग्न रहेको देखिएको छ। तथ्यांकअनुसार ५६९ वटा दुईपाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका छन्, जसले सडक सुरक्षामा उच्च जोखिम संकेत गरेको सरोकारवालाहरूले बताएका छन्।

कार्यक्रममा ‘शुभयात्रा अभियान’की अभियन्ता रमा मगरले अभियान सञ्चालनको उद्देश्य, सडकमा जनचेतना फैलाउने गतिविधि तथा हालसम्म प्राप्त उपलब्धिबारे प्रस्तुति दिएकी थिइन्। उनका अनुसार स्थानीय समुदायको सक्रिय सहभागिताले अभियान प्रभावकारी बन्दै गएको छ। अन्तरक्रियामा सहभागी जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूले अभियानलाई जिल्लाभर विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनीहरूले सडक सुरक्षा सुनिश्चित गर्न जनचेतना नै सबैभन्दा प्रभावकारी उपाय भएको धारणा व्यक्त गरेका थिए। गत वैशाख २२ गतेदेखि स्वत स्फूर्त रूपमा स्थानीय युवाहरुले सडक सूरक्षा अभियान उदयपुर समूह वनाई “सुरक्षित सडक अभियान” अन्तर्गत ‘शुभयात्रा अभियान’ सञ्चालन गर्दै आएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय र अभियानकर्मीको समन्वयमा सुरु अभियान हाल मदन भण्डारी लोकमार्गका जोखिमपूर्ण क्षेत्रहरूमा विस्तार गरिएको छ।

सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति बढ्दै गइरहेको अवस्थामा ‘शुभयात्रा अभियान’ जस्ता समुदाय–केन्द्रित सचेतनामूलक प्रयासहरूले सुरक्षित सडक संस्कृतिको विकासमा सकारात्मक योगदान दिइरहेको सरोकारवालाहरूको निष्कर्ष छ।