Tuesday, August 4News That Matters

सुर्खेतको बताउने संस्थाबाट उदयपुरका सयौं कुखुरापालक कृषक ठगिए

पूर्णपुष्टि सम्बाददाता
उदयपुर, साउन १९ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ र ६ वडाका कुखुरापालक कृषकहरु प्रलोभनमा परेर लाखौं रुपैयाँ ठगीमा परेका छन् । पीडित कृषकहरूका अनुसार सुर्खेतको वीरेन्द्रनगर–१२ ठेगाना बताउने मनकामना एग्रीकल्चर डेभलपमेन्ट नामक संस्थाले प्रलोभनमा पारेर ठगी गरेको हो । गत असारमा गाउँमा पुगेर सुधारिएको कुखुराको खोर र २० वटा कुखुराका चल्ला उपलब्ध गराउने भन्दै कृषकहरुबाट रकम लिएर ठगी गरेको हो । यसरी ठगिनेमा दुईवटा वडाका एकसय भन्दा बढि कृषकहरु रहेका छन् ।
पिडित कृषक कलावती चौधरीका अनुसार सुरुमा प्रत्येक कृषकबाट पाँचसय रुपैया लिएर रसिद काटेको र करिब एक सातापछि २० वटा कुखुराका चल्ला वितरण गरेको थियो । त्यसपछि दुई हप्ताभित्र सुधारिएको कुखुराको खोर किन्न भन्दै छ हजारका दरले रकम लिएर बेपत्ता भएको हो । दिलासा पाण्डे नामको क्युआर कोडबाटसमेत उनीहरुले पैसा दिएको पिडित रञ्जिता चौधरीले बताइन् ।
प्र.–२–०३–००१च ५६७४ नम्बरको पिकअप ढुवानी भ्यान नै प्रयोग गरेर कुखुराको चल्ला ओसार–पसार गरेका थिए । गाउँ गाउँमा डुलेर कुखुरापालनको योजना सुनाएर प्रलोभनमा पार्ने काम गरेका थिए ।
पिडितहरुका अनुसार सुरुमा पाँच सय रुपैयाको चल्ला घरघरमै पुर्याइदिएर कृषकहरुको विश्वास जितेको थियो । उन्नतरुपले कुखुरा पालन गर्न पाउने र आयआर्जन राम्रो हुने प्रलोभनमा परेका कृषकहरुबाट सुधारिएको कुखुरा खोरको ठुलो रकम ठगी भएको हो । सुधारिएको खोरको प्रतिकृषक छ हजारका दरले उठाएर संस्था बेपत्ता भएको छ । विभिन्न ठाउँका सयभन्दा बढि कृषकबाट लाखौ गठी भएको हो ।
संस्थाका सबै सम्पर्क नम्बर बन्द गरेर वेपत्ता भएपछि ठगीमा परेको कृषकहरुले थाहा पाएको पिडित कृषक माया चौधरीले बताइन् । एक महिनादेखि एक्कासी सबै सम्पर्क नम्बर अफ गरेर सम्पर्क विहिन भइरहेको उनले बताइन् ।
गाउँका सामान्य तथा विपन्न किसानलाई आकर्षक योजना देखाएर लाखौं रुपैयाँ ठगी भएको छ । ठगी गर्ने संस्था र संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न कृषकहरुले सरकारसँग माग गरेका छन् । त्यसका लागि पिडितहरुले प्रहरीमा उजुरी दिने तयारी भइरहेको बताएका छन् ।
रसिदमा उल्लेखित संस्थाको सम्पर्क नम्बर र सम्पर्क ब्यक्तिहरुको नम्बरहरु सम्पर्क हुन नसक्ने बनाइएको छ । संस्थाको सम्पर्क नम्बर ९७६१२५३५९०, सम्पर्क ब्यक्तिहरुको नम्बर ९७६४७०४२९२ र ९७१३९०१७२६ प्रयोग भएका थिए । यसमा सबै एनसेलको नम्बर प्रयोग भएको पाइएको छ ।
स्थानीय शिक्षक भाष्कर चौधरीले गाउँभरीका सोझासिधा कृषकहरुलाई कुखुरा पालनको प्रलोभनमा पारेर ठगी भएको बताए । पहिले कुखुराको चल्ला ल्याएर गाउँलेको विश्वास जित्ने काम गरेको र पछि मोटो रकम लिएर सम्पर्कविहिन भई ठगी गरेको शिक्षक चौधरीले बताए । गाउँलेहरु प्रहरीमा उजुरी दिन संयुक्त निवेदन तयारी र हस्ताक्षर संकलनमा जुटिरहेको उनले बताए ।