
पूर्णपुष्टि, असार २१ । बागलुङको जैमिनी नगरपालिकामा रहेको ताराज्योति प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या गम्भीर रूपमा घटेको छ। हाल यस विद्यालयमा जम्मा दुई जना विद्यार्थी मात्र अध्ययनरत छन्।
विद्यालयका प्रधानाध्यापक गोविन्द अधिकारीका अनुसार, स्थानीयवासीहरू सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यार्थीको संख्या घट्दै गएको हो। विगत तीन वर्षमा विद्यार्थी संख्या ११ बाट घटेर दुईमा सीमित भएको छ। विद्यालयमा तीन जना कर्मचारी कार्यरत छन्, तर विद्यार्थी संख्या घट्दै जाँदा विद्यालयको अस्तित्व नै खतरामा परेको छ। एक दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बस्नुपर्ने अवस्था थियो, तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थी संख्या न्यून छ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कम विद्यार्थी भएका विद्यालयहरूलाई समायोजन गर्ने नीति रहेको बताएका छन्। नगरपालिकाले विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढाएको छ। शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गरिने जानकारी दिएका छन्। नगरपालिकाले विद्यालय समायोजन र तह मिलानको विषयमा अध्ययन गरिसकेको उनले बताए।
