
पूर्णपुष्टि, असार १०
विभिन्न पशुपंछी तथा जनावरको आवाज निकालेर युट्युबमा प्रख्यात भएकी सन्तोषी सुब्बाको हत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना पक्राउ परेका हुन् । तिमल्सिना गाडी सहचालक रहेको अनुसन्धानमा खुलेको छ ।
हत्या आरोपमा पक्राउ परेका तिमल्सिनालाई (बिहीबार) पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछि अभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका थिए । तिमल्सिनाले त्यहीँ जबरजस्ती करणी गर्न खोजेपछि सुब्बाले प्रतिकार गर्न खोजेपछि तिमल्सेनाले घाँटी अँठ्याएर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका एक अधिकारीका अनुसार तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने ।
हत्यापछि शव नचिनियोस् भनी तिमल्सिनाले पटक–पटक अनुहारमा प्रहार गरी विभत्स बनाएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
दक्षिणकालीको पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा बुधबार विभत्स अवस्थामा सुब्बाको शव फेला परेको थियो ।
