
पूर्णपुष्टि, भदौ २२
सेवाबाट अवकास प्राप्त सरकारी कर्मचारीको सेवा सुविधा भुक्तानी अव कोष तथा लेखा नियन्त्रक कार्यालयब (कोलेनिका) बाट हुने भएको छ ।
यअअघि भुक्तानी सम्बन्धित कार्यालयबाटै हुने गरेको सरकारी निजामती, प्रहरी तथा जंगीलगायत कर्मचारीको अवकासपछिको सेवा सुविधा भुक्तानी अब कोलेनिकाहरुबाट हुने भएको हो ।
चालु आर्थिक वर्ष २०७७/७८ देखि सेवाबाट अवकाश भएका सरकारी कर्मचारीको अवकाशपछिको भुक्तानी हुने उपदान, सञ्चित बिदा तथा औषधि उपचारतर्फको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयहरुबाट हुने गरी अख्तियारी प्राप्त भएको कोलेनिकाले जनाएको छ ।
खर्चमा एकरुपता ल्याउने तथा लेखा राख्न सहज हुने भन्दै यस वर्षबाट कोलेनिकाले यस्तो अख्तियारी पाएको हो । अर्को व्यवस्थाप नभएसम्म कोलेनिकाहरुबाटै अवकास प्राप्त कर्मचारीले अवकाशपछिको भुक्तानी लिनु पर्ने भएको छ ।
नेपालका सबै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना भएका छन् । अब सम्बन्धित कार्यालयका कार्यालय प्रमुख र लेखा प्रमुखले आवश्यक कागजात प्रमाणित गरेर कोलेनिकामा पत्र लिएर गएपछि मात्र कर्मचारीले भुक्तानी पाउने भएका छन् ।

