
पूर्णपुष्टि, साउन ११ । बुधबार काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये १३ जनाको शव अझै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको छ। सरकार र एयरलाइन्स कम्पनीले क्षतिपूर्ति र बीमा सम्बन्धी विषयमा स्पष्ट निर्णय नगरेकाले मृतकका अधिकांश परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन्।
महाराजगंज प्रहरी वृत्तका डीएसपी अमर थापाका अनुसार शुक्रबारसम्म पाँच वटा शव मात्र परिवारले बुझेका छन्। उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार, सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेर अन्त्येष्टिका लागि लगेको डिएसपी थापाले बताए।
केही मृतकका परिवारले आरोप लगाएका छन् कि उनीहरूलाई जबरजस्ती शव बुझेको कागजमा हस्ताक्षर गर्न लगाइएको छ। बुधबार बिहान ११स्११ बजे त्रिभुवन विमानस्थलमा भएको यस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।
मृतकका परिवारहरूले क्षतिपूर्ति र बीमा सम्बन्धी विषयमा स्पष्ट जानकारी र निर्णय नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
