
पूर्णपुष्टि, पुष १८
स्रोत नखुलेको ५० लाख रुपयाँ प्रकरणमा सौर्य एयरलाईन्स बिराटनगरका स्टेसन इन्चार्ज पक्राउ परेको छ । त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेल पक्राउ परेका हुन् ।
प्रहरीले पक्रेर स्टेशन इन्चार्ज पौडेललाई विभागमा बुझाएको राजश्व अनुसन्धान विभागका सूचना अधिकारी टंकप्रसाद पाण्डेयले बताए । ‘प्रहरीले भर्खरै उहाँलाई विभागमा बुझाएको पाण्डेले जनाए । पाण्डेले अदालत लगेर म्याद थपेर स्रोत नखुलेको रकम र प्रयोजनबारे उनीहरुसंग थप अनुसन्धान हुने समेत जनाए ।

यसअघि शनिबार विराटनगरबाट सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू–२४ मा काठमाडौं आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेल स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् । उनै शाक्य पोखरेलले दिएको बयानको आधारमा पौडेललाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

