
पूर्णपुष्टि, भदौ २६
काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने बढेको भन्दै प्रशासनले कारबाहीको प्रक्रियालाई तीव्र बनाउने भएको छ ।
निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, सार्वजनिक गाडीले भीडभाड गरेर यात्रु ओसारपसार गराएको, तोकिएको दिन र समयभन्दा बाहेकको समयमा पनि पसल खोल्ने, भीडभाड गर्ने, मास्क नलगाइ हिँड्ने जस्ता क्रियाकलाप बढ्दो भएको भन्दै प्रशासनले मापदण्ड पालनामा कडाइ गर्ने भएको हो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कडा कारबाही नगरी नहुने अवस्था सिर्जना भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । हिजोमात्रै जोरबिजोर नमान्ने एक हजारभन्दा धेरै गाडीलाई कारबाही गरिएको जनाएको छ ।
सरकारले तोकेको मापदण्ड र निर्देशन नमानेमा जो कोहीलाई पनि कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको १९ बुँदे मापदण्ड पालना भएनभएको बारे अनुगमन भइरहेकाले सरकारी निर्णयलाई अक्षरस पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

