Saturday, May 30News That Matters

पत्रकार किसन राईको भोजपुर जाने क्रममा खोटाङमा लडेर मृत्यु

पूर्णपुष्टि, कार्तिक ८
हकङमा बसेर पत्रकारिता गर्दै आएका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । ५४ बर्षिय राईको भोजपुर जाने क्रममा खोटाङ स्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर मृत्यु भएको हो । ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पनि हुन् ।

उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदैआएको छ । गाडी रोकेर दिसापिसाब गर्न भन्दै पाखामा जानेक्रममा भिरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए । राईलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको मेडिकल सुपरिटेण्डेण्ट डा।वैभव मल्लिकले पुष्टि गरेका छन् ।

धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताए । पत्रकार राईसँग सशस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि थिए । उनीहरू घुमफिरका क्रममा भोजपुरतर्फ हिँडेको बताइएको छ ।