
पूर्णपुष्टि, जेष्ठ २७
एक युवाको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मा ३५ वर्षीय महेन्द्र यादव मृत फेला परेका थिए । यादवको हत्यामा संलग्न रहेको पाँच युवालाई रुपन्देहीबाट प्रहरी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका–४ कै २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।
गत आइतबार बिहान इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रविन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । मृतकको शरीरको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने उद्देश्यले यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्याका अभियुक्तहरूलाई जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता चन्दले बताउनुभयो ।
