Saturday, April 25News That Matters

हेटौँडामा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु

पूर्णपुष्टि, जेष्ठ ६

रिक्त रहेको राष्ट्रिय सभाको पदको उपनिर्वाचनमा हेटौँडामा मतदान सुरु भएको छ । आजै मतपरिणाम आउने गरी मदतान सुरु गरिएको छ । हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा जारी मतदानमा प्रदेशतर्फ मुख्यमन्त्री डोरमणि पौडेल र स्थानीय तहतर्फ धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले सुरुमा मतदान गरेका छन् । उपनिर्वाचनमा प्रदेशसभाका १ सय ९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ सहित कुल ३ सय ४७ मतदाता छन् ।

उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ भिड्दै छन् । देवकोटा स्वतन्त्र उम्मेदवार भए पनि उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको सहयोग छ ।

बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिनेछ । विद्यालयको पूर्वपट्टिको गेटबाट कोरोना पोजिटिभ मतदाता र पश्चिमतिरको गेटबाट अन्य मतदातालाई प्रवेश गराइएको छ ।