
पूर्णपुष्टि, बैशाख १३ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा देशभरका सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने महत्वाकांक्षी घोषणा गरेका छन् ।
मेयर साम्पाङले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यो घोषणा गर्दै लेखेका छन्, “८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेद्वार बन्नेछन् ।” साम्पाङले आफ्ना उम्मेदवारहरू छनोट गर्दा बेदाग र इमानदार व्यक्तित्व, काम गर्न इच्छुक र सक्षम व्यक्ति तथा भ्रष्टाचारमा संलग्न नभएका व्यक्तिहरूलाई प्राथमिकता दिने बताएका छन् ।
गत मंसिर १६ गते भएको कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा साम्पाङले मानव अधिकार संगठनका राजमान महर्जनलाई समर्थन गरेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका थिए भने साम्पाङले समर्थन गरेका महर्जनले चौथो स्थान हासिल गरेका थिए ।
