Tuesday, July 7News That Matters

१४ बर्षीय निरजकुमार पासवानको हत्या अभियोगमा दुई पक्राउ, एक फरार

पूर्णपुष्टि, पुष १३ गते ।
वीरगञ्ज–२५ सिर्सियाका १४ बर्षीय निरजकुमार पासवानको हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनीन गाउँपालिका–१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेल रहेका छन् । फरार रहेको व्यक्तिको परिचय खुलिसकेको र उनको खोजी कार्य भईरहेको प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । फिरौतीको लागी पासवानलाई अपहरण गरी हात, खुट्टा तथा मुखमा कपडाको पट्टीले बाँधेर राखेकामा डोरी फुकालेर भाग्न खोज्दा उनको हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मंसिर ५ गतेदेखि हराएका निरजको शव गाउँकै गुरूकुल पन्ना मेमोरियल इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा पुस १० गते आइतबार साँझ भेटिएको थियो ।