Sunday, April 19News That Matters

१६ वर्षीया किशोरी करणी गरेको अभियोगमा ९ जना पक्राउ

पूर्णपुष्टि, भदौ २३
एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ९ जना पक्राउ गरेको छ । सुर्खेतको इलाका प्रहरी कार्यालय बाबियाचौरले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले करणी अभियोगमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको बताए ।
किशोरीको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखाएको विष्टले बताए । पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले आफूलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा सोमबार उजुरी दिएपछि उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भइसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाघरमा बस्न आएकी किशोरीमाथि बलात्कार भएको बताए ।
उनकाअनुसार मुद्दा दर्तापछि किशोरी आफैँले बलात्कार गर्नेलाई पहिचान गराउँदै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन् ।
करणी आरोप लागेकामध्ये केहीलाई पक्राउ गर्न बाँकी रहेको बताउँदै प्रहरी निरीक्षक शाहीले नियन्त्रणमा लिइएका ९ जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए ।