
पूर्णपुष्टि, असार १३
यस वर्ष राम्रो सँग वर्षा भएकाले असार १५ अघि नै २० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ ।
उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भैसकेको कृषि मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो ।
सरकारले यस वर्ष पनि विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाउन लागेको छ । यसवर्ष “धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि” नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ललितपुरको खुमलटारमा आयोजना हुनेभएको छ ।
नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ ।
नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ ।
कूल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन ११ प्रतिशत रहेको छ । धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ ।
नेपालमा चैते, वर्षे र घैया, भदैया र हिउँदेधान (बोरो) का रुपमा धान खेती गर्दै आएको छ ।
संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो ।
झापालाई सरकारले धान उत्पादनको सुपर जोन घोषण गरी लागू गरेको छ । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ ।
