Thursday, April 30News That Matters

२०८२ सालमा दुई पटक चन्द्रग्रहण : कुन राशिका लागि शुभ?

पूर्णपुष्टि, फागुन ३ । आगामी २०८२ सालमा नेपालमा दुई पटक चन्द्रग्रहण लाग्ने भएको छ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्नेछ । यो चन्द्रग्रहण नेपाल, भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ ।

पहिलो ग्रहणका बेला रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, ११ बजेर १५ मिनेटमा सम्मिलन, ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन र १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ । कूल तीन घण्टा ३० मिनेट ग्रहण रहनेछ । ग्रहण स्पर्श हुनुभन्दा नौ घण्टाअघि अर्थात् भाद्र २२ गते दिउसो १ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।

राशिअनुसार यो चन्द्रग्रहण मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएका व्यक्तिहरूले हेर्न सक्नेछन् । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ राशि भएका मानिसहरूका लागी यो ग्रहणले अति कष्ट दिने बताइएको छ ।

त्यस्तै २०८२ फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिने र रात्रि ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ ।

यो दिन बिहान ९ बजेर ३ मिनेटबाट बाल, वृद्ध, रोगी र आतुरलाई बाहेक शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ । राशिअनुसार यो ग्रहण मेष, वृष, कर्कट, सिंह, कन्या, धनु, मकर र कुम्भ राशि भएकाले हेर्नु हुँदैन । पूर्वाफाल्गुनी नक्षत्रमा जन्म भएका र सिंह राशि भएका मानिसहरूका लागी यो ग्रहण कष्टकारक हुने बताइएको छ ।

ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र सिद्धि र दान पुण्य गर्न शुभ मानिन्छ । यस बेला सुत्न, दिसा–पिसाब गर्न, मैथुन गर्न, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र हिंसा गर्न निषेध गरिएको छ ।