Sunday, May 17News That Matters

३ साता बाँकी एसईई परिक्षा अझै अन्योलमा

पूर्णपुष्टि, बैशाख २३

कोरोना संक्रमणको उच्च जोखिमका कारण एसईई परिक्षा अन्योलमा परेको छ । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ ।

कोरोना संक्रमण दोस्रो सिजन बिचमा आए सँगै कक्षा १० को सबै पाठहरु पनि नसकिएको शिक्षाविद् नारायण गौतमकले बताउनुभयो ।

शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ ।

गौतमका अनुसार विद्यार्थीहरु निकै मारमा परेको बताउँदै सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा रहेको बताउनुभयो ।

गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो तर सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन । गत मङ्सिर÷पुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन थालियो । त्यस्तै कक्षा १२ को पठनपाठन सुरु भएको छ महिना पनि भएको छैन । यसले गर्दा कक्षा १० र १२ को सबै कोर्स पूरा भइसकेको छैन । दुर्गमका कतिपय विद्यालयमा विज्ञान र गणित विषयको कोर्स ६० प्रतिशतसम्म सकिएको अवस्था छ ।

शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले अहिलेको अवस्था हेर्दा छिटै समस्याबाट पार पाइने नदेखिएको बताउँदै परीक्षा लिने नै भए प्रश्नपत्र विद्यालयलाई नै पठाइदिएर परीक्षा उसैले लिने विधि अपनाउनुपर्ने सुझाव दिनुभयो । “गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्न पनि सकिन्छ तर बढी अङ्क दिने बद्माशी हुन सक्दछ । त्यसैले यसलाई निगरानी गर्ने संयन्त्र तयार गर्नुपर्दछ ।”

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आफूहरु छलफलमै रहेको बताउँदै “अवस्था हेरेर यो महिनापछि मात्र निर्णय गर्ने बताउनुभयो ।