Wednesday, April 22News That Matters

६ जिल्लामा गाजा फडानी

विराटनगर, कात्तिक २५ गते । 

प्रहरीले १ न. प्रदेशका विभिन्न जिल्लामा एकै पटक अवैध रुपमा लगाएको र आफै उम्रिएका गाजा फडानी गरी नष्ट गरिरहेका छन् । धनकुटा, उदयपुर, खोटाङ, भोजपुर, सुनसरी र ईलाम जिल्लाको विभिन्न ठाउँमा प्रहरीले गाजा फडानी गरी नष्ट गर्ने काम भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा मातहत प्रहरी कार्यालयबाट खटेका प्रहरी टोलीले जिल्लाको शहिदभुमी, साँगुरीगढी र धनकुटाकै आँखिसल्ला लगायतका एरियाको करिब २ सय रोपनीमा अवैध रुपमा लगाईएका र आफै उम्रिएका १ लाख ५० हजार गाँजाको बोटहरु  फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै खोटाङको ईलाका प्रहरी कार्यालय हलेशी र प्रहरी चौकी च्यास्मिटारबाट खटेका प्रहरी टोलीले हलेशी तुवाचुङ नगरपालिका–१ र २ को डिकुवा, दाम्ली, र बाँहुनीडांडा लगायतको क्षेत्रको करिव ५ हजार बोट गाजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुर, ईलाका प्रहरी कार्यालय घोडेटार र बोयाङबाट खटेको प्रहरी टोलीले हतुवागढी गाउँपालिका–९ मुस्ताङ र थुम्की गाउँमा करिब ३२ रोपनी जग्गाको १२ हजार ५ सय बोट गाजा फडानी गरी नष्ट गरेको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले कटारी र ताप्ली गाँउपालिकाको बिभिन्न ठाउँमा ४० रोपनी जग्गाको २५ हजार बोट गाजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ । त्यस्तै सुनसरीको ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटेका प्रहरी टोलीले उक्त गाउँपालिका–६ मा करिव ३ सय गाजाको बोट फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी जितपुर ईलामबाट खटेका प्रहरी टोलीले देउमाई नगरपालिकाका बिभिन्न ठाउँमा ९० बोट गाजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा अबैध रुपमा गाजाको खेती हुने गरेको पाईएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले कार्ययोजना बनाएर सम्बन्धित जिल्लाहरुमा बिशेष अभियान नै संचालन गरेको छ । अबैध रुपमा लगाएका र आफै उम्रिएका गाजाको बोटहरु प्रहरीले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरि गाजा फडानी गरी नष्ट गर्ने कार्य भईरहेको १ न. प्रदेश पहरीले जनाएको छ ।