
पूर्णपुष्टि, चैत २०
आज काठमाण्डौमा मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ । भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्न लाग्नुभएको हो ।
दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुहुनेछ ।
यसअघि आयोजनाले २३ गते सोमवार उद्घाटन गर्ने भने पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखिएको आयोजनाले जनाएको छ।
काठमाण्डौमा आइतवारदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको छ । अहिलेसम्म महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भएको छ । यसैबीच, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ ।
बालाजु पोखरीमा हिजोदेखि पानी पठाउन थालिएकोमा आज बिहान पाँच बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । यस्तै आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण हुने जनाएको छ ।
