
पूर्णपुष्टि, भाद्र ३० । अमेरिकाबाट नेपाल फर्किएका एक ७६ वर्षीय वृद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन्। पर्वतको पैंयू गाउँपालिका-१ का दण्डपाणि भुसाल शनिबार राति १०:२५ बजेदेखि सम्पर्कविहीन भएका छन्।
भुसालका ज्वाईं मधु वस्तीका अनुसार, उनी दुबई ट्रान्जिट हुँदै हिमालयन एअरलाइन्सको उडानमार्फत काठमाडौं आइपुगेका थिए। विमानस्थलमा अवतरण गरेपछि भिडियो कल समेत भएको थियो। त्यसपछि भुसाल विमानस्थलको सीसी क्यामेरामा बाहिर निस्किएको देखिए पनि त्यसपछि उनको कुनै अत्तोपत्तो छैन।
वस्तीले बताए अनुसार, भुसाललाई एक जना सिस्टरको साथमा अमेरिकाबाट पठाइएको थियो। विमानस्थलबाट बाहिर निस्केपछि झोला छुट्यो भन्दै भुसाल भित्र फर्किएका थिए। त्यही बेला सिस्टर उनको सामान विमानस्थलमै छाडेर गएकी थिइन्। भुसालको झोला र कागजातहरू भेटिए पनि उनी भने फेला परेका छैनन्। लेखपढ गर्न नजान्ने भुसाल हराएपछि आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएका छन्। गौशाला वृत्तका डीएसपी केशव थेबेले भुसाल हराएको निवेदन प्राप्त भएको पुष्टि गर्दै खोजी कार्य सुरु गरिएको जानकारी दिए।
