
पूर्णपुष्टि, साउन २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै स्वास्थ्य संस्थाहरुलाई आकस्मिक कक्षमा आउने बिरामीहरुलाई तत्काल उपचार दिन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्।
विज्ञप्तिमा इमर्जेन्सीमा आउने बिरामीलाई तुरुन्त उपचार दिई स्वास्थ्य अवस्था स्थिर बनाउन र आवश्यक परे अन्य उपयुक्त स्वास्थ्य संस्थामा पठाउन भनिएको छ। तर अर्को अस्पतालमा पठाउँदा पहिले समन्वय गरेर मात्र रेफर गर्न आग्रह गरिएको छ। यो निर्देशन नेपालको संविधान र जनस्वास्थ्य ऐन २०७५ अनुरूप जारी गरिएको हो। संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने व्यवस्था गरेको छ भने ऐनले आपतकालीन अवस्थामा तत्काल सेवा दिनुपर्ने प्रावधान राखेको छ।
