Tuesday, June 9News That Matters

आजदेखि मेलम्चीको पानी धारामा

पूर्णपुष्टि, चैत १५ 

आजदेखि मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा वितरण हुने भएको छ ।

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी अस्ति शुक्रवारदेखि विभिन्न ठाउँमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पुरानै प्रणालीबाट पानी वितरण गरिने छ । परीक्षणकाल भएकाले आज उपत्यकामा ४ करोड लिटर पानी मात्रै वितरण गर्ने तयारी रहको केयूकेएलले जनाएको छ । उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न झण्डै एक हप्ता लाग्नेछ ।

आज वितरण हुने पानी  पाइपको परीक्षणका लागि मात्र भएकाले पिउन मिल्दैन । परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पानी पिउन मिल्ने जनाएको छ  ।

गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो । मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले उपत्यकामा एक हजार १० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्नेमा ९ सय ८० किलोमिटर सम्पन्न गरेको छ ।

थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किलोमिटर सम्पन्न भइसकेको छ । पानी वितरणका लागि उपत्यकामा १० वटा वितरण केन्द्र (ट्याङ्की)मध्ये एउटा भक्तपुर कटुञ्जेको ट्याङ्कीबाहेक नौवटा सम्पन्न भइसकेका छन् । पानीको मुहान मेलम्ची खोलामा ‘हेडबक्स’ निर्माण भइरहेको छ । अस्थायी विकल्प प्रयोग गरी पानी पथान्तरण गरिएको छ ।

पानी प्रशोधन केन्द्र, पाइपलाइन, वितरण केन्द्र (ट्याङ्की) परीक्षणका लागि पानी वितरण गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्र्याउने लक्ष्य छ ।

दोस्रो चरणमा लार्के खोलाको १७ करोड लिटर र याङ्ग्री खोलाको १७ करोड लिटर पानी अहिले निर्माण भएका संरचनाबाटै उपत्यका भित्रिएपछि दैनिक आपूर्ति ५१ करोड लिटर पुग्ने छ । त्यसपछि उपत्यकामा खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । याङ्ग्री र लार्के खोलाको पानी थप नौ किलोमिटर सुरुङ निर्माण गरी मेलम्चीको सुरुङ मार्गमा मिसाइने छ ।

२६ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो दोस्रो आयोजना सम्पन्न गर्न तीन वर्ष लाग्ने छ तर अहिलेसम्म स्रोत सुनिश्चित हुन सकेको छैन ।

काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि २०२८ सालदेखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएकामा २०४० सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्ष निकाली प्रक्रिया अगाडि बढाइएको थियो ।