Saturday, April 26News That Matters

आज नवरात्री, भोली टिकाको साईत ११:५५ बजे

पूर्णपुष्टि, असोज १३ गते ।

आज नवरात्रिको नवौं दिन, दुर्गा र महालक्ष्मी देवीको पूजा अर्चना गरिन्छ । हिन्दुधर्मका अनुसार आजको दिन दुर्गा माता र लक्ष्मीको सिद्धता हासिल हुने र धनआर्जन हुने जनविश्वास छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । हिन्दुधर्मका अनुसार आज सबैभन्दा धेरै बलि चढाइने दिन हो । देवीहरुले असुरहरुलाई खोजी(खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेकाले जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ ।

नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यलय लगायतका ठाँउमा आज कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ ।

वलि दिनकालागि आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो हुनेगर्दछ ।

कतिपय ठाँउमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोतपूजा र निशानपूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेध आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि छ ।
हिन्दुधर्मावलम्बीको यो विशेष चाँडलाई अन्य धर्मावलम्बीले पनि उत्तिकै महत्वका साथ मनाउने गर्छन् भने केहीले टिका नलाएर खानपान मात्र पनि गर्दछन् ।

टिकाको साईत ११:५५ बजे

यसबर्षको भोली हुने टिकाको साईत नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार मध्यान्ह ११ बजेर ५५ मिनेटपछि उत्तम रहेको छ ।
समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले शुभसाईतको जानकारी सार्बजनिक गर्दै असोज १४ गते शनिबार विजया दशमीका दिन उक्त समयपछि मान्यजनबाट जुनसुकै समयमा पनि टिका थाप्न उत्तम हुने जनाएका छन् ।