
पूर्णपुष्टि, साउन २० । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ, जसको कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। देशका विभिन्न भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। यी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेको भन्दै आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
