
पूर्णपुष्टि, साउन २५ । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आदिवासीहरूको हकहित र समानताका लागि राज्यले लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सभामुख बिष्टले नेपाललाई बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचान भएको मुलुकको रूपमा चित्रण गर्दै आदिवासीहरूको पहिचान, रीतिरिवाज, कला, सभ्यता र भेषभूषालाई राष्ट्रिय सम्पत्तिको रूपमा व्याख्या गरे। उनले यी मौलिक पहिचानहरूको संरक्षण गर्नुपर्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिए।
बिष्टले आदिवासी समुदायका लागि सहज, सरल र विकसित समाज निर्माण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै आदिवासीका हक, अधिकार र पहिचानको रक्षाका लागि सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे। यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरका आदिवासी जनजातिहरूले सन् १९९५ देखि अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आएका छन्। नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ।
