
पूर्णपुष्टि, बैशाख २२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम गत शुक्रबारदेखि अघि बढाएको छ । देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा शिक्षकहरूले धमाधम कापी परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।
परीक्षा बोर्डले उत्तर पुस्तिका परीक्षणका लागि देशभरबाट करिब ३० हजार शिक्षकहरू खटाएको जनाएको छ । बोर्डले कापी परीक्षणको लागि १५ दिनको समय निर्धारण गरेको छ । यसअघि असार ७ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको थियो ।
अध्यक्ष शर्माका अनुसार कापी परीक्षणको अवस्था हेरेर बोर्डले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै नतिजा प्रकाशन गर्न सकिने वा नसकिने भन्ने यकिन हुनेछ । बोर्डले कापी परीक्षणको काम सकिएपछि आन्तरिक प्रक्रिया गर्न थप एक महिना समय लाग्ने जनाएको छ ।
यस वर्षको परीक्षण प्रक्रिया विगतभन्दा फरक रहेको छ । विगतमा कापी परीक्षणको कार्य शैक्षिक सत्र सकिएर बिदा भएको बेला हुने गरेको थियो । तर यो पटक बिदाको समयमा शिक्षकहरू सडक आन्दोलनका लागि काठमाडौंमा रहेका थिए ।
नेपाल शिक्षक महासङ्घले सरकारसँग ९ बुँदे सहमति भएपछि २९ औं दिनमा वैशाख १७ गते सडक आन्दोलन र शैक्षिक हडताल अन्त्य गरेको थियो । त्यसपछि मात्र शुक्रबारदेखि कापी परीक्षणको काम थालिएको हो ।
अहिले विद्यालय खुलेको समय भएकाले शिक्षकहरूले नियमित पढाइसँगै अतिरिक्त समयमा उत्तर पुस्तिका परीक्षण गर्नुपर्ने अवस्था रहेको छ । परीक्षा बोर्डले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरेर आवश्यकता अनुसार कापी परीक्षणका लागि थप शिक्षक परिचालन गर्न सक्ने जनाएको छ ।
२०८१ को चैत ७ गतेदेखि सुरु भएको एसइईमा देशभरबाट पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिएका थिए । आन्दोलनको अन्त्य गर्दै शिक्षक महासङ्घले समेत तीव्रताका साथ कापी परीक्षण लगायतका काममा लाग्न देशभरका शिक्षकहरूलाई आग्रह गरेको छ ।