Wednesday, May 20News That Matters

नेपालमा मृत्युको स्थिति : कोशीमा धेरै, कर्णालीमा न्युन

पूर्णपुष्टि, बैशाख २२ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको मृत्युस्थितिसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ । तथ्यांकअनुसार नेपालका सात प्रदेशमध्ये सबैभन्दा बढी मृत्युदर कोशी प्रदेशमा रहेको देखिएको छ ।

जनगणना अनुसार कोशी प्रदेशमा मृत्यु स्थिति ३.१ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा न्यून २.२ प्रतिशत रहेको छ । जिल्लागत तुलनामा कपिलवस्तुमा सर्वाधिक ३.८ प्रतिशत र रुकुम-पश्चिममा न्यूनतम १.८ प्रतिशत मृत्युदर रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

देशभरका कुल ९६६ लाख ६० हजार ८ सय १० गैरसंस्थागत परिवारमध्ये २.९ प्रतिशत परिवारमा मात्र कुनै सदस्यको मृत्यु भएको पाइएको छ । गणनाको दिनभन्दा ठीक अगाडिको १२ महिनाभित्र कुल १ लाख ९८ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ, जसमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् ।

नेपालको कोरा मृत्युदर निरन्तर घट्दो क्रममा रहेको देखिन्छ । वि.सं. २०५८ मा १०.२ प्रतिहजार रहेको कोरा मृत्युदर वि.सं. २०६८ मा ७.३ प्रतिहजार र हाल वि.सं. २०७८ मा ६.८ प्रतिहजारमा झरेको छ ।

मृत्युको लैंगिक अनुपातमा नेपालमा १३७.६ रहेको छ, अर्थात् १ हजार जना महिलाको मृत्यु हुँदा १ हजार ३ सय ७६ जना पुरुषको मृत्यु हुने गरेको छ । यस्तो अनुपात कर्णाली प्रदेशमा १४६.३ र सुदूरपश्चिम प्रदेशमा १४४.३ रहेको छ ।

बुढ्यौलीको अवस्था हेर्दा नेपालको करिब ८० प्रतिशत जनसंख्या ६० वर्षसम्म बाँच्ने अपेक्षा गरिएको छ । यस उमेरसम्ममा ८५ प्रतिशत महिला र ७५ प्रतिशत पुरुष बाँच्नसक्ने देखिन्छ । सम्पन्न परिवारका ८४.७ प्रतिशत व्यक्ति ६० वर्षसम्म बाँच्न सक्छन् भने विपन्न परिवारमा यो दर ७७.७ प्रतिशत मात्र रहेको छ ।

जनसंख्या शाखाका निर्देशक विनोदशरण आचार्यका अनुसार विश्वमा मानिसहरूको औसत आयु सन् १९९० मा ६४.२ वर्षबाट बढेर सन् २०१९ मा ७२.६ वर्ष पुगेको छ र सन् २०५० सम्ममा ७७.१ वर्ष पुग्ने अनुमान छ ।

नेपालमा साठी वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसंख्या वि.सं. २०६८ मा ८.१ प्रतिशतबाट बढेर २०७८ मा १०.२ प्रतिशत पुगेको छ । यो वृद्धिदर कायम रहे वि.सं. २१११ सम्ममा नेपाल एक बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ, जसले आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौतीहरू सिर्जना गर्नेछ ।

वि.सं. २०४८ देखि वृद्ध व्यक्तिहरूको जनसंख्या लगभग तीन गुणा बढेको छ । पछिल्लो दशकमा पहाडी क्षेत्रमा बुढ्यौली जनसंख्या २५.७ प्रतिशतबाट बढेर ४३.६ प्रतिशत पुगेको छ, जुन हिमाली र तराई क्षेत्रको तुलनामा तीव्रतर वृद्धि हो ।