
पूर्णपुष्टि, माघ २४
आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सुर्खुेतका एक युवक पक्राउ परेकोे छ । जिल्लाको वीरेन्द्रनगर–२ खोलीगाउँमा आफ्नै ५७ वर्षीय आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले उनकै छोरा ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।
रमेशले आमालाई शनिवार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कुटपिट भएको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो ।
प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ ।
नियन्त्रणमा लिइएका रमेशलाई सोमबार सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

