
पूर्णपुष्टि, जेष्ठ २
तनहुमा गिद्धको संख्या बढेको छ । यहाँ गिद्धको संख्या बढ्नुका कारण भनेको आहाराको व्यवस्था हो । प्राकृतिक कूचिकारको रुपमा चिनिने गिद्ध संरक्षण गर्न तनहुँमा आहाराको व्यवस्था भएपछि गिद्धको संख्या बढेको हो ।
व्यास नगरपालिका–१०, दुम्सी, सिशुवा भतेरीमा गिद्धको लागि आहाराको व्यवस्था गरिएको छ । सो ठाउँमा रहेको गौसंरक्षण केन्द्रमा मरेका गाई तथा गोरु गिद्धको भोजनको लागि दिइने गरिए पछि गिद्धलाई आहारा सहज बनेको छ ।
आहाराको व्यवस्थाले सो क्षेत्रमा अहिले गिद्धको संख्या बाक्लो रुपमा देखिन थालेको वडाअध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।
छाडा चौपायले सडक अबरुद्ध गर्नुको साथै दुर्घटना समेत हुन थालेपछि व्यास नगरपालिकाको सहयोगमा स्थापना गरिएको गौ संरक्षण केन्द्रमा मरेका गाईबस्तुलाई नगाडी सोही ठाउँ नजिकै मादी नदीको किनारको चौरमा यत्तिकै राखि दिन थालेपछि गिद्धहरु आउन थालेको अध्यक्षसापकोटाले जानकारी दिनुभयो ।
हिमाली, गरुड, सेतो, राजा, घाँटी लामो भएकाm स्थानीय जात र अरु थुप्रै नमा नजानेकाहरु गरी करिब नौ प्रजातिका गिद्धहरु देखिन थालेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । त्यहाँ तीन वर्ष अघिबाट गौ संरक्षण थालिएको हो । तीन वटा ब्लकमा गरी करिब तीन सय रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरिनुको साथै गाईको मल, मुत्र र कुहिने फोहोरलाई प्रयोग गरी बायोग्याँस प्लान्ट निर्माण गरिएको छ ।
आहाराको कमी र विषाक्त आहारा भएकोले विरामी हुने मर्ने जस्ता कारणले गिद्धहरु लोपहुँदै गएकाले आहाराको लागि नगाडी खुला स्थानामा छाड्ने गरिएको केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो । ‘‘प्रकृतिमा सबैले बाच्ने वातावरण पाउनु पर्छ खाना नभएपछि गिद्ध लोप भएर जाने अवस्था आएकोले आहाराको व्यवस्था गरेका हौं’’ सापकोटाले भन्नुभयो । गाई विरामी हुँदा पनि पशुचिकित्सको सल्लाहले सिनो खाने क्रममा गिद्ध नमर्ने औषधी खुवाउने गरिएको केन्द्रले जनाएको छ ।
