Thursday, May 28News That Matters

उदयपुरकाे भुल्केका २८ संक्रमित मध्ये ६ जना डिस्चार्ज, एक नम्बर प्रदेशमै पहिलाे डिस्चार्ज

पूर्णपुष्टि, वैशाख २४ ।

उदयपुरको भुल्केमा कोरोना संक्रमित पुष्टि भएका २८ मध्ये ६ जना आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत वैशाख ५ गते उदयपुर मात्र नभई १ नम्बर प्रदेशकै पहिलो घटनाको रुपमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा १२ जना कोरोना संक्रमित पुष्टि भएका थिए । सोही मध्येको ६ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु सबै भारतीय नागरिक हुन् ।

मुस्लिम समुदायका जमाति समुहका उनीहरुको प्रदेश सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार भईरहेकामा ठीक भएपछि डिस्चार्ज भएका हुन्् ।

उनिहरुको स्वास्थ्यमा सुधार आई कोरोना रिर्पोट नेगेटिभ आएपछि सबैलाई बुधबार अस्पतालबाट विदाई गरिएको हो । डिस्चार्ज भएकाहरुलाई विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा पुनः १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । त्यहाँ १० शैयाको शौचालयसहितको क्वारेनटाइन तयार गरिएको छ ।

कोशी अस्पतालका अनुसार कोरोनामुक्त भई डिस्चार्ज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २८ वर्षीय मोहम्मद जावेद, २९ वर्षीय मोहम्मद अजिज, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । अस्पताललमा उनीहरु भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको कोशी अस्पतालकी मेसु संगीता मिश्रले जानकारी दिनुभयो ।

चिकित्सकको निगरानीमा उपचार गरी स्वास्थ्य लाभ गरेर उहाँहरु जानु भएको उहाँले बताउनुभयो । अब क्वारेन्टाइनमा बसेपछि उनिहरुको स्वास्थ्य अवस्था कस्तो हुनेछ भन्नेसमेत निगरानी हुनेछ । आवश्यक परे परीक्षण पनि गरिने छ ।

उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बेला परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुसंगै आएका बाँकीको अस्पतालमै उपचार भईरहेको छ । कोभिड १९ उपचार केन्द्रमा २५ जना उपचाररत छन् । उनिहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।