Wednesday, April 29News That Matters

उदयपुरको कटारीमा खयर तस्करी, पक्राउ पूर्जी जारी भएपछि तस्करहरू फरार

पूर्णपुष्टि, जेष्ठ ३० । उदयपुरको कटारी नगरपालिका–१० स्थित पाल्सीङ्ग क्षेत्रमा खयरका रुखहरू अवैध रूपमा काटेर व्यापक तस्करी भएको खुलासा भएको छ । घना वन रहेको उक्त क्षेत्रमा अहिले खयरका ठुट्टाहरू मात्र देखिने गरेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार तस्करीमा स्थानीयसहित २४ जनाभन्दा बढी व्यक्ति संलग्न रहेको अनुमान गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीमा स्थानीय गणेशबहादुर राउतले तीन जनाविरुद्ध उजुरी दर्ता गराएका छन् ।

उजुरीमा निरज थापा, काजीबहादुर राउत र रामकृष्ण राउतको नाम उल्लेख छ । तस्करीका मुख्य व्यक्ति भीम मगर भएको उजुरीकर्ता गणेशबहादुर राउतले दाबी गरेका छन्। खयर ढुवानीमा बा२०च ७२६१ नम्बरको गाडी प्रयोग भएको भनिएको छ । उजुरीमा कुनै पनि निकायबाट स्वीकृत नलिई अबैधानिक तथा गैह्र कानुनी किसिमले खयरका रुख काटेर तस्करी गरिएको बताइएको छ । त्यस्तै के कति खयर त्यसरी काटिएको हो, स्थलगत हेरी तस्करीमा संलग्नहरुलाई प्रचलित ऐन बमोजिम कारवाहीको माग गर्दै वनको सुरक्षा गर्न भनिएको छ । उजुरी दिएपछि गणेशबहादुर राउतलाई ज्यान मार्ने धम्की दिइएको छ । उनकाअनुसार विभिन्न नम्बरबाट लगातार फोन आइरहेको छ जुन तस्करसँग सम्बन्धित हुनसक्छ ।

डिभिजन वन कार्यालय त्रिवेणीका वन अधिकृत अरविन्द पाण्डेले घटनाको पुष्टि गर्दै स्थलगत निरीक्षणमा खयर तस्करी भएको देखिएको बताएका छन् । मुचुल्का उठाइसकेको र आरोपितहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको उनले जानकारी दिए । उजुरीमा नाम उल्लेख भएका आरोपीहरू हाल फरार रहेको वन अधिकृत पाण्डेले जानकारी दिएका छन्। उनले संलग्नहरूलाई छानबिन गरेर कानुनी कारबाही गर्ने बताएका छन् ।

तस्करी भएको खयर भारततर्फ बिक्रीका लागि लगिने गरेको बताइएको छ । खयरमा औषधीय गुण भएको हुनाले यसको बजारमा राम्रो मूल्य पाइन्छ । यसबाट बहुमूल्य औषधि, अत्तर र अन्य उत्पादनहरू निर्माण गरिन्छ । खयरलाई चियापत्तीका रूपमा प्रयोग गर्नुका साथै घरेलु मदिरा उत्पादनमा पनि व्यापक प्रयोग गरिन्छ ।