
पूर्णपुष्टि, असार १९ । उदयपुरको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि आज एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजना र कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा भएको यस कार्यक्रममा विभिन्न सरोकारवालाहरूबीच गहन छलफल भएको छ।
त्रियुगा नगरपालिका–१२ स्थित होटल टाउन हलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा उदयपुरको पर्यटन विकासका सम्भावना, चुनौति र आवश्यक रणनीतिहरूबारे विस्तृत छलफल गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले उदयपुरको पर्यटन विकासका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘उदयपुरको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै यहाँको पर्यटन क्षेत्रलाई अघि बढाउन हामी दृढ छौं।’
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष डेभिड बस्नेतको अध्यक्षतामा भएको यस कार्यक्रममा स्थानीय होटल व्यवसायीहरू, पर्यटन उद्यमीहरू, स्थानीय सरकारका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। छलफलका क्रममा उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास, पूर्वाधार निर्माण, पर्यटन प्याकेजहरूको विकास, र प्रभावकारी प्रचार–प्रसारका विषयमा विशेष जोड दिइएको थियो । साथै, कोभिड–१९ पछिको पर्यटन पुनरुत्थानका रणनीतिहरू पनि छलफलको विषय बनेको थियो।
कार्यक्रमका सहभागीहरूले उदयपुरको पर्यटन विकासका लागि सबै पक्षको समन्वयात्मक प्रयास आवश्यक रहेको बताए। यस अन्तरक्रियाबाट निस्केका निष्कर्ष र सुझावहरूलाई समेटेर एक विस्तृत प्रतिवेदन तयार गरिने र सोही आधारमा आगामी दिनमा ठोस कार्ययोजना बनाइने जानकारी आयोजकहरूले दिएका छन् । यो कार्यक्रम उदयपुरको पर्यटन विकासमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ।
