Friday, July 10News That Matters

निर्वाचन आयुक्त सिफारिस प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी

पूर्णपुष्टि, असार १९ । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी परेको छ। संवैधानिक परिषद्ले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेपछि ७ असारमा उजुरी आह्वान गरेको थियो। मंगलबार समितिले प्राप्त उजुरीहरू वितरण गर्दै बिहीबार छलफल गर्ने निर्णय गरेको छ।

प्रधानविरुद्ध पाँच वटा यौन दुर्व्यवहारसम्बन्धी उजुरी परेका छन् । उजुरीहरूमा प्रधानले कानुन आयोगको कार्यकारी निर्देशक हुँदा एक महिलालाई इच्छाविपरीत यौन सम्पर्क गरेको, काम लगाइदिने बहानामा यौन दुर्व्यवहार गरेको, र पीडितलाई एक करोड रुपैयाँ दिएको आरोप लगाइएको छ।

उजुरीकर्ताले बैंक विवरणहरू पनि समितिमा पेस गरेका छन्। यसबाहेक, प्रधानले दबाबमा मुद्दा मिलापत्र गराएको उजुरीमा उल्लेख छ। संविधान र संवैधानिक परिषद् ऐनअनुसार आयुक्त उच्च नैतिक चरित्रको हुनुपर्ने व्यवस्था छ। सुनुवाइ समितिले उजुरीकर्ताको कुरा सुनेर निर्णय गर्ने बताइएको छ।