Wednesday, June 17News That Matters

बालिका बलात्कार आरोपी प्रहरी निरीक्षक थुनामा

पूर्णपुष्टि, असार १९ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार यो आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
शिवाकोटीले आफ्नो घरमा घरेलु श्रमिकका रूपमा राखेकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । उनलाई गत जेठ २३ मा पक्राउ गरिएको थियो । बालिकाको बयान अनुसार ४५ वर्षीय शिवाकोटीले उनलाई तीन वर्षदेखि पटक–पटक बलात्कार गरेका थिए।

काठमाडौं महानगरपालिकाको बाल उद्धार समितिले बालिकाको उद्धार गरेपछि यो घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार तराई मूलकी उक्त बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् र कक्षा ८ मा पढ्दै थिइन् । शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणीको मुद्दा दायर गरेको छ । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका थिए।