
पूर्णपुष्टि, भदौ ३१ गते ।
उदयपुरको बेलका नगरपालिकाका २५ जनामा डेंगूको संक्रमण देखिएको छ । विहीबार नगर अस्पतालमा उपचारकोक्रममा आएका ६० जना विरामीमध्ये २५ जनामा डेंगूको संक्रमण पुष्टि भएको हो ।
डेंगूको संक्रमण देखिएपछि नगरपालिकाले नियन्त्रण गर्नका लागि (फगिङ स्प्रे) कार्यलाई तीव्रता दिएको छ ।
नगरपालिकाले सो प्रविधि खरिदगरी डेंगू प्रभावित क्षेत्रमा स्प्रे गर्न थालेको नगर प्रमुख अशोक कार्कीले बताए । नगर प्रमुख कार्कीकानुसार १ र २ नं. वडाको टोलबस्तिहरुमा पहिलो चरणको औषधी छिट्ने काम भइसको छ ।
नगर अस्पतालका ल्याब टेक्निसियन सन्तोष साहकानुसार अस्पतालमा उपचारमा आएका ६० जना बिरामीहरुमध्ये २५ जना बिरामीहरुमा डेंगू रोगको पोजिटिभ संक्रमण देखिएको बताए ।
त्यस्तै बेलका नगर बिपद व्यावस्थापनका सम्पर्क व्याक्ति राजेश भट्टराईले १ र वडा नं २ का वस्तिहरुमा पानी जम्ने र यसअघि बाढी प्रभावित क्षेत्रमासमेत फगिङ स्प्रेको काम सम्पन्न भइसकेको बताए ।
मानिसहरुको चहलपहल रोकिए पछि रातको समयमा स्प्रे गर्नु पर्ने भएकोले सबै क्षेत्रमा स्प्रे गर्न अझै केही समय लाग्ने भट्टराईले बताए ।
प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गौतमले अस्पतालमा डेंगू रोगको बिरामीको संख्या बढ़ेपछि रोग नियन्त्रणका लागि मेसिन नै खÞरीद गरी प्रभावित हुन सक्ने क्षेत्रहरुमा औषधी छिट्ने कार्य भइरहेको बताए ।
बाढी प्रभावित क्षेत्रका वडा वस्तिहरुमा बढी डेंगू बिरामी फेला परेकोले ३ नं. वडाको वस्तिहरुसँगै अन्य वडाहरुमा पनि स्प्रे कार्य गरिने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।
त्यस्तै, नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार २ सय १७ जना डेंगु संक्रमण पुष्टि भएको हो । डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।

