Thursday, May 28News That Matters

उदयपुरमा “अभ्यास मनसुन–६” सम्पन्न, विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा जोड

पूर्णपुष्टि, उदयपुर । जेठ १४ ।
नजिकिँदै गरेको वर्षायामलाई मध्यनजर गर्दै मनसुनजन्य विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उदयपुर जिल्लामा “अभ्यास मनसुन–६” सम्पन्न गरिएको छ।
श्री पशुपति प्रसाद गणको संयोजकत्वमा सञ्चालन गरिएको उक्त अभ्यासमा श्री नं. १८ बाहिनी अड्डा, जिल्ला प्रहरी कार्यालय उदयपुर, सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण उदयपुर, जिल्ला रेडक्रस सोसाइटी उदयपुर, विपद् प्रतिकार्यसँग आबद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा राष्ट्रिय सेवादलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । अभ्यास मिति २०८३ जेठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको जनाइएको छ ।
अभ्यासको सुरुवात पशुपति प्रसाद गण, पिपलटार ब्यारेक उदयपुरमा भएको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेको उपस्थितिमा विपद् विषयगत क्षेत्रका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु तथा विषयविज्ञ प्रतिनिधिहरुले उदयपुर जिल्लामा विपद् व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रस्तुतीकरण तथा छलफल गरेका थिए।
कार्यक्रम अन्तर्गत टेवल टप एक्सरसाइज सञ्चालन गरी सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबीच समन्वय, जिम्मेवारी तथा क्षमताबारे अभ्यास गरिएको थियो।
त्यसैगरी, जेठ १३ गते त्रियुगा नगरपालिका–६ जलजलेमा फिल्ड ट्रेनिङ एक्सरसाईज सञ्चालन गरिएको थियो। उक्त अवसरमा बाढी, डुबान तथा पहिरो जस्ता प्राकृतिक विपद्का सम्भावित घटनालाई आधार बनाएर विभिन्न सिमुलेशन एक्सरसाईजको प्रदर्शन गरिएको थियो। साथै, विपद् व्यवस्थापनसम्बन्धी सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो।

समापन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, श्री नं. १८ बाहिनीका बाहिनीपति सहायक रथी बिमल कुमार बस्नेत, पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की लगायत विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय विपद् व्यवस्थापन समितिका प्रतिनिधि, रेडक्रसकर्मी, राष्ट्रिय सेवादलका शिक्षार्थी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो।
करिब ५०० जनाको सहभागिता रहेको उक्त अभ्यासले मनसुनजन्य विपद्का समयमा आवश्यक सूचना संकलन, उद्धार, राहत तथा स्रोत–साधन परिचालनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तस्विरहरु : (तस्विर साैजन्य : नेपाली सेना)