Friday, February 14News That Matters

उदयपुरमा आईसियु र भेन्टिलेटर ठप्प, बिरामी बाहिरिन बाध्य

पूर्णपुष्टि, पुष १० । उदयपुर जिल्ला अस्पतालमा दक्ष जनशक्ति र स्रोतसाधनको अभावका कारण ४ बेडको आईसियु र २ बेडको भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । यसले गर्दा गम्भीर बिरामीहरू धरान र विराटनगर जान बाध्य छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार कोभिड–१९ को समयमा जिल्ला अस्पतालमा प्रदेश सरकारको ७९ लाख लागतमा स्थापना गरिएको अक्सिजन प्लान्ट बिग्रेको २ वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । बेलका नगरपालिकाको अक्सिजन प्लान्ट पनि बन्द रहेकोले अस्पतालले लहान र विराटनगरबाट प्रतिसिलिन्डर ७ सय रुपैयाँमा अक्सिजन खरिद गर्नुपरेको इन्सेकले जनाएको छ ।

भौगोलिक विकटताका कारण यातायात सेवा नियमित नहुँदा स्वास्थ्य सेवामा गम्भीर असर परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । यसको ताजा उदाहरणको रूपमा रौतामाई गाउँपालिका–६ का ७ वर्षीय एञ्जल मगरको मृत्यु रहेको छ । गत असोज ११ गते ज्वरो, निमोनिया र झाडापखालाका कारण सिकिस्त भएका मगरको निरन्तरको वर्षाले अवरुद्ध भएको सडक खुल्न नसक्दा समयमै अस्पताल पुर्यान नसक्दा उनको १३ गते मृत्यु भएको थियो ।

५० शैय्याको जिल्ला अस्पताललाई २०० शैय्यामा स्तरोन्नति गर्ने योजना बजेट अभावमा अनिश्चित छ । अस्पतालमा ९८ प्रकारका निःशुल्क औषधिमध्ये ५०–६० प्रकार मात्र उपलब्ध छन् । संघीय सरकारले २०७७ मंसिरमा शिलान्यास गरेका ६ स्थानीय तहका अस्पताल निर्माणको काम पनि सुस्त गतिमा छ । जिल्लामा हाल ३ अस्पताल, १५६ प्राथमिक स्वास्थ्य केन्द्र, ४१ स्वास्थ्य चौकी र २४३ खोप केन्द्र रहेका इन्सेकले जनाएको छ ।