Wednesday, April 29News That Matters

उदयपुरमा किरात राई समुदायद्वारा ‘उभौली’ पर्वको तयारी तीव्र

पूर्णपुष्टि, बैशाख २६ । उदयपुरको कटारी नगरपालिका लगायतका क्षेत्रमा (किरात) राई समुदायले आफ्नो महत्वपूर्ण परम्परागत चाड उभौली पर्वको तयारी तीव्र पारेका छन् । आगामी २९ वैशाख (वैशाखे पूर्णिमा) का दिन मनाइने यस पर्वका लागि विभिन्न स्थानहरूमा साकेला सिली (नाच) को प्रशिक्षण तीव्र गतिमा चलिरहेको छ ।

नगरपालिकाको वार्ड नम्बर ३ च्याँगामा राति दश बजेसम्म ढोल भ्याम्टा बज्न थालेको एक साता भइसकेको छ । यस्तै नगरपालिकाकै वडा नम्बर ४ र ६ मा पनि ढोल भ्याम्टासँगै साकेला सिली नाचको प्रशिक्षण जारी छ । किरात राई यायोक्खा कटारीको आयोजनामा स्थानीय साकेला थानमा धुमधामका साथ उभौली मनाउने तयारी गरिएको छ ।

“नाच्न जान्नेहरू जान्ने नै भए, तर नजान्नेहरूमा पनि साकेलाको आकर्षण छ, त्यसैले प्रशिक्षण नै आवश्यक भएको हो,” यायोक्खा कटारीकी अध्यक्ष मेनुका राईले बताइन् । उनका अनुसार तालिका बनाएर टोल-टोलमा साकेला सिली सिकाइरहेको छ ।

प्रशिक्षक जश्मिता राईका अनुसार साकेला सिली सिक्न राई किशोर-किशोरीहरू र युवा-युवतीहरू टोल-टोलमा भेला हुने गरेका छन् । अहिले राई समुदायका अतिरिक्त गैह्र राई समुदायका व्यक्तिहरूले पनि यो नाच सिक्न थालेका छन् । प्रत्येक टोलमा दुई दर्जन जतिको संख्यामा प्रशिक्षार्थीहरू उपस्थित हुने गरेका छन् ।

किरात राई यायोक्खा उदयपुरका सदस्य निशान राईका अनुसार जिल्ला सदरमुकाम गाईघाट, वेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाका गाउँ-गाउँमा पनि पन्ध्र दिनसम्म मनाइने उभौलीमा साकेला सिलीको तालिका तयार भइसकेको छ । “प्रत्येक वडा र टोल-टोलमा ढोल भ्याम्टा बज्न थालिसक्यो, सबै वडाका टोलहरूमा उभौलीमा साकेला नाचेर मनाइने” उनले बताए ।

उभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेंसीबाट लेकतिर बसाई सर्ने समयको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाइन्छ । प्रकृति पूजक किरातीहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउने परम्परा रहिआएको छ ।