
पूर्णपुष्टि, बैशाख २३ । उदयपुरको कटारी नगरपलिकामा सोमबार साझ हावाहुरी र बर्षा सँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ८ फुलबारी बस्ने मानबहादुर मगरका १३ बर्षिय छोरा चित्रबहादुर बलम्पाकी मगर रहेका इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक (डिएसपी) कमल बजागाईका अनुसार सोमबार दिउँसो बाख्रा चराउन गएका बालक साझ अबेर सम्म घर नफर्किए पछि परिवारले खोजी सुरु गरेको थियो । छोरो खोज्ने क्रममा बाख्रा चराईरहेको स्थानमा पुगेको बुबा मानबहादुरले छोरोको डडेको शरीर भुइँमा ढलिरहेको मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृतक बालकको शब पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ भने घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ
