
पूर्णपुष्टि, असार २५ । उदयपुरको त्रियुगा नगरपालिकामा तीनदिने नापतौल शिविर संचालन भईरहेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजना र गुणस्तर तथा नापतौल कायालय विराटनगरको समन्वयमा संघको कार्यालय परिसरमा मंगलबारदेखी नापतौल शिविर संचालन भएको हो ।
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले उद्योगी व्यवसायीहरूका लागि सहज र कानुनी रूपले व्यवसाय सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए । संघका महासचिव सुनिल साहका अनुसार शिविरमा ५० जना भन्दा बढी उद्योगी, व्यापारी, तथा व्यवसायीहरुले आफ्नो ढक तराजु तथा नाप तौलका सामग्री नविकरण तथा चेक जाँच गराएका छन् । बाँकी दिनमा अझै थप व्यवसायीहरूको सहभागिता रहने उनले बताए ।
मंगलबारदेखी संचालन भएको शिविर बिहिबार सम्म चल्नेछ । शिविरमा सहभागिताका लागि संघले सबै उद्योगी तथा व्यवसायीहरूलाई आ–आफ्ना उपकरणसहित बिहिवार २६ गते सम्म उपस्थित भई नाप्ने, तौलने यन्त्र, उपकरण सहित आउन आग्रह गरेका छन । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरकी निरीक्षक मनिषा राईको नेतृत्वमा शिविर सञ्चालन गरिएको छ ।
