
पूर्णपुष्टि/उदयपुर, असोज २१ ।
निरन्तर वर्षाले अवरुद्ध सगरमाथा राजमार्ग, शिद्धिचरण राजमार्ग र मदनभण्डारी राजमार्ग सबै सुचारु भएका छन् । उदयपुरमा पर्ने यी सबै राजमार्गमा उदयपुर क्षेत्रमा हाल अवरोध नरहेको स्थानीय प्रशासनले जनाएको छ ।
अवरोधहरु हटाएसंगै राजमार्गहरु सञ्चालनमा आएको हो । गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्गको गाईघाट–फेक्सिन्टार सडकखण्ड अवरोध हटाएपछि सञ्चालनमा छ । फोक्सिन्टारदेखि दिक्तेलसम्मको सडक पनि आजबाट सञ्चालन हुनेछ ।
ठाउँठाउँमा अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग पनि अवरोध हटाइएसंगै सञ्चालनमा रहेको छ । मदनभण्डारी राजमार्गको भिमान–बसाहा सडकखण्डसमेत हेर्दै आएको गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्ग सञ्चालन छ । पूर्व–पश्चिम यात्र गर्ने सबै सवारी साधन हाल सुचारु रहेको जनाइएको छ ।
सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण खसेको पहिरो पन्छाएपछि सो राजमार्ग सञ्चालनमा आएको हो ।
सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएपछि यातायात सुचारु भएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंका अनुसार सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएको हो । रात्रिकालीन समयमा भने सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको जनाइएको छ ।
मैनामैनी–भाेजपुर सडक भने अवरुद्ध कायमै
यसैबीच उदयपुरकाे बेलका नगरपालिका अन्तर्गत मैनामैनीदेखि भाेजपुर जाेड्ने सडक अवराेध कायमै छ । सडककाे अवराेध हटाइ नसकिएकाले सडक सञ्चालन हुन सकेकाे छैन । लगातारकाे बर्षाले उक्त सडक उदयपुरमा सबैभन्दा बढी क्षती भएकाे थियाे ।
